जाजरकोट। हरेक वर्ष खानेपानीको समस्या झेल्दै आएको भेरी नगरपालिका–१३ स्थित कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको ३० करोड लागतमा खानेपानी आयोजना निर्माणका लागि कामको थालनीसँगै यसै आर्थिक वर्षबाट खानेपानीको समस्या समाधान हुने त्यहँको स्थानीयमा आशा पलाएको हो।
तिहारलगत्तै खानेपानीको वैकल्पिकरुपमा तत्काल समाधान गर्न रु २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुखले जानकारी दिएका छन्। सो आयोजना एक वर्षभित्र सक्ने गरी तीव्र गतिमा काम भइरहेको छ। भेरी करिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ। सो ठाउँमा झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने र पानी नआएमा भेरी नदीमा जानुपर्ने बाँध्यता रहेको छ। त्यहि बाँध्यतालाई हटाउने उद्देश्यका साथ खानेपानी निर्माण आयोजनालाई अगाडी बढाइएको हो।
भेरी नदीको पल्लो छेउ रुकुम पश्चिमको चौरजहारीमा नयाँ सहर बन्दै छ। तर जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नु पर्दा हैरान हुने स्थानीयले गुनासो पोखेका छन्। कुदु क्षेत्रमा झण्डै ३०० घरधुरी रहेका छन् तर अरु सुविधा त हैन उनिहरुले पानी पनि प्रशस्त मात्रामा पाउँन सकेका छैनन्। खानेपानीको अभावका कारण यहाँका सर्वसाधारणको जीवन कष्टकर बन्न पुगेको छ। कुदुवासीहरु नदिको किनारको फोहोरर पानी पिउँन बाँध्य छन्। फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन् तर पनि खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका स्थाानीयले दुख पोखेका छन्।
पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो। कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ। तर सयौँ बिघा जमिन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासीले बताएका छन्। भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सकेको भए पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषकहरु बताउँछन्।