काठमाडौं। एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन्। अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन्।
मन्त्रालयको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन्। यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ।
यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन्। यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ।
करकट्टी गर्ने निकायले लिने स्थायी लेखा नम्बर पनि यस अवधिमा निकै बढेको छ। मन्त्रालयका अनुसार एक वर्षको अवधिमा छ हजार १५६ वटा त्यस्ता निकायले स्थायी लेखा नम्बर लिएका छन्। २०७८ असार मसान्तसम्म करिब १० हजार त्यस्ता निकायले मात्र स्थायी लेखा नम्बर लिएका थिए। पछिल्लो एक वर्षसहित यसरी स्थायी लेखा नम्बर लिने करकट्टी गर्ने निकायको सङ्ख्या हालसम्म १६ हजार नाघेको छ।
तीनै प्रकृतिका करदातासहित एक वर्षको अवधिमा करिब सात लाख नयाँ करदाता थपिएका हुन्। यससँगै हालसम्म स्थायी लेखा नम्बर लिनेको सङ्ख्या ४७ लाख ५९ हजार पुगेको छ। समीक्षा अवधिमा २७ हजार २७० करदाता मूल्य अभिवृद्धि करमा दर्ता भएका छन्।
योसँगै नेपालमा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको सङ्ख्या करिब तीन लाख १८ हजार पुगेको छ। त्यस्तै एक वर्षमा १३ हजार ६७१ करदाता अन्तःशुल्कमा दर्ता भएका छन्। हालसम्म अन्तःशुल्कमा दर्ता हुनेको सङ्ख्या एक लख १८ हजार पुगेको छ। सरकारले करको दरभन्दा पछिल्लो समय करको दायरा विस्तारमा जोड दिँदै आएको छ। हाल अनलाइनबाटै व्यक्तिगत र व्यावसायिक रूपमा स्थायी लेखा नम्बर प्राप्त गर्ने सुविधा पनि उपलब्ध छ।