झापा। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ। अटोचालक बुद्धशान्ति–७ का ४१ वर्षीय भानु खड्काको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अटोमा सवार दुई जना घाइते भएका छन्।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नम्बरको अटोलाई ठक्कर दिएको हो।
घाइते अटोचालक खड्काको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मेचीनगर–७ की १८ वर्षीया बिना सेञ्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राईको बिर्तामोडमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न पिकअप चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।