काठमाडौं। आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ। आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउनेछ। त्यसैले नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्। सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ। सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ।
यस्तै चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन। त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन। यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ।
त्यसैगरि आजदेखि पहिलो पटक विद्युती्य सेवा कर लागू हुँदैछ। यसका लागि विद्युती्य सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ। यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका छन्। यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ।
वार्षिक २० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ।
यस्तै यसअघि १३ प्रतिशत रहेको दूरसञ्चार सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै १० प्रतिशत कायम गरिएको छ। यसले गर्दा दुरसञ्चार सेवा केही सस्तो हुने अपेक्षा गरिएको छ।
साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ।