काठमाडौं। काठमाडौं महानगरपालिकाले थप तीन दमकल खरिद गरेको छ। सोमबार वीरगञ्ज भन्सारबाट हिँडेका तीन वटा दमकल मंगलबार काठमाडौं आइपुगेका छन्।
राष्ट्रिय सभागृहमा राखिएको सो दमकल ठेकेदार कम्पनीले हस्तान्तरण गरेसँगै बालाजु औद्योगिक क्षेत्रभित्र निर्माण गर्न लागेको नयाँ स्टेसन, राम हिटी र धर्मपथस्थित जुद्ध वारुणयन्त्र कार्यालयमा राख्ने तयारी भएको महानगरपालिकाले जनाएको छ।
उक्त दमकल दुई हजार लिटर पानी अट्ने क्षमता भएका छन्। उपत्यकामा अग्ला अग्ला भवन निर्माण हुन थालेपछि अत्याधुनिक दमकल खरिद गरिएको बताइएको छ।
शुरूमा कामपासँग आगलागी नियन्त्रण गर्न नौ वटा दमकल थिए। तीमध्ये ५ वटा चल्नै नसक्ने गरी थन्किएका छन्। हाल ४ वटा मात्र सञ्चालनमा रहेका छन्। अपुग भएसँगै तीन वटा थप गरिएको महानगरले बताएको छ।