म्याग्दी। मंगला गाउँपालिका ३ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोट दरबार पुग्ने पदमार्ग निर्माण भएको छ। १० लाख लागतमा उक्त पदमार्ग निर्माण भएको हो।
गण्डकी प्रदेश सभा सदस्य, पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनको सांसद विकास कोषबाट पूर्वाधार विकास कार्यालय मार्फत रकम परिचालन हुने गरी प्राप्त ९ लाख रुपैयाँ र स्थानीयको एक लाख १० हजार बराबरको श्रमदानबाट पदमार्ग निर्माण भएको छ। पदमार्ग निर्माण भएपछि चिनाकोट शुन्दर देखिएको छ।
घाम्टाङदेखि चिनाकोटसम्मको करिब ४०० मिटर पदमार्ग निर्माण गरिए पछि ऐतिहासिक दरबार पुग्न सहज भएको हो। घाम्टाङदेखि चिनाकोटसम्मको जम्मा ७०० मिटर बाटोमा करिब ६० प्रतिशतमा पदमार्ग निर्माण भएको बताइएको छ।
चिनाकोटलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि यस अघि गाउँपालिकाले धुरीमा उक्लिन रेलिङसहितको पदमार्ग निर्माण गरिसकेको छ भने खानेपानी व्यवस्थापन र शौचालय लगायत पूर्वाधार निर्माण गरेको छ।
समुन्द्री सतहदेखि २२ सय मिटरको उचाइमा रहेको चिनाकोट दरवारलाई पर्यटकीय स्थलको रूपमा विकास गर्नका लागि मंगला गाउँपालिकाले गुरु योजना तयार गरी पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिकाले जनाएको छ।
यो पनिः
चोःलुङ–फक्ताङलुङ मुन्धुमी पदमार्ग निर्माण