काठमाडौं। चीनको गेजुवा ग्रुप क्रपले पाकिस्तानको डासु बाँध निर्माणको ठेक्का पाएको छ। तर चीनले हाल परियोजनाको काम सुचारु गर्न पाकिस्तानसँग ३ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति मागेको छ। बाँध निर्माण गर्ने क्रममा मारिएका चिनियाँ इन्जिनियरको क्षतिपूर्तिबापत सो रकम चीनले मागेको हो।
गत जुलाई १४ मा बिस्फोटक पदार्थ भरिएको कारसँग चीनियाँ इन्जिनियर तथा कामदार सवार बस ठोक्किँदा बस सडकभन्दा तल खसेको कारणले गर्दा चीनियाँ इन्जिनियर मारिएका थिए। त्यसैले चीनले बाँध परियोजना सुचारु हुनुभन्दा अघि ३ करोड ८० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने अडान पाकिस्तानसँग राखेको कुरा बिजनेस रेकर्डरमा लेखिएको छ।
सो दुर्घटनामा परी बसमा सवार रहेका ९ जना इन्जिनियर, दुईजना स्थानीय बासिन्दा र दुईजना फ्रन्टियर कन्स्टबुलरी व्यक्तिको मृत्यु भएको थियो। सो घटनापश्चात त्यहाँ काम सुचारु भएको छैन। अहिले सो क्षतिपूर्तिका विषयमा पाकिस्तानको विदेश मन्त्रालय, अर्थ मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय, जलस्रोत मन्त्रालय तथा चिनियाँ राजदूतावासहरुबीच छलफल भइरहेको छ।
त्यस्तै पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार चीनियाँ मागलाई पाकिस्तानका सरकारी अधिकारीहरूले अनौपचारिक रूपमा अस्वाभाविक माग भएको टिप्पणी गरेका छन्। तर चिनियाँ अधिकारीहरूले भने उनीहरूका कामदार तथा इन्जिनियरलाई थप सुरक्षा तथा क्षतिपूर्तिका विषयमा टुंगो नलागेसम्म बाँध निर्माणको काम सुरु हुन नसक्ने बताएका छन्।