काठमाडौं। काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ। सूचना जारी गर्दै जनशक्ति थप गरेर सडक निर्माणको आज काम सम्पन्न गर्ने र भोलिबाट फोहोर उठाईने भएको हो।
विहीबार विहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्याउन, त्यसै सूचनामार्फत महानगरबासीमा अनुरोध गरिएको छ।
उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएकोले साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो। विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा रहेको फोहोर व्यवस्थापन समितिको बैठक बसेको थियो। छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो।
त्यस लगत्तै फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो।
महानगरले घर, पसल, व्यवसायबाट उत्पादन भएको फोहोर सार्वजनिक चोक, गल्ली तथा सार्वजनिक स्थलमा ननिकाल्न र घरमै छुट्याएर राख्न अनुरोध गरेको छ।
यो पनिः
सडक निर्माणमा सघाउन ७ दिन फोहोर ढुवानी बन्द