सिन्धुपाल्चोक। बाढीपहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ। ४ महिना अगाडी नै बाढीपहिरोले क्षति पुगेको सो आयोजनाको क्षतिको यकीन अहिलेसम्म पनि हुन सकेको छैन। जसले गर्दा आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ।
कात्तिक महिनासम्म पनि बेमौसमि वर्षा निरन्तर भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले जानकारी गराएको छ। सो आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाएको भएता पनि बेमौसमि रुपमा आएको वर्षाकोसँगै आएको बाढीको कारणले गर्दा आयोजना निर्माणमा ढिलाइ भइरहेको समितिका सूचना अधिकारीले जानकारी दिएका छन्।