काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्न विगतमा भएका निर्णयहरुलाई कडाइसाथ कार्यान्वयन गर्ने सहमति भएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूबीच नुवाकोटको ककनीमा बुधवार भएको छलफलपछि यस्तो सहमति भएको हो । बुधबार दिउँसो २ बजे ककनीमा सुरु भएको बैठक साँझ ७ बजे सकिएको थियो । ६ घण्टा लामो बैठक सहमतिमा पुगेको हो ।
बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका साथै ३ जिल्लाका जनप्रतिनिधिहरू पनि सहभागी थिए ।
बैठकमा विगतमा भएका निर्णयहरुलाई कडाइसाथ कार्यान्वयन गर्ने सहमति भएको छ । फोहोर लैजाने बाटोमा धुलो रोक्ने काम गर्ने, पानी छम्कने र फोहोर फाल्ने ठाउँमा औषधी छम्कने काम गर्ने र फोहोर बिसर्जन भएको विन्दूमा माटोले राम्रोसँग पुर्ने लगायतका सहमति भएका छन् ।
बैठकमा तीन÷तीन दिनमा प्लास्टिक, त्यसमाथि माटो, माटोमाथि फोहोर नगन्हाउने बनाउन विभिन्न केमिकल छर्कने लगायतका सहमतिलाई कडाईपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ । बैठकमा आन्दोलनका क्रममा पक्राउ परेका स्थानीयलाई छाड्ने सहमति पनि भएको छ ।