काठमाण्डौं। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा एक घर, एक धारा अभियान सञ्चालन हुने भएको छ। जिल्लाको दुर्गम गाउँ र वडाका रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार एक घर, एक धारा अभियान सञ्चालन हुने भएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार एक घर, एक धारा अभियान कार्यान्वयन गर्नका लागि एक करोड २६ लाख बराबरको बजेट लागत अनुमान गरिएको छ। उक्त लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिएका छन्।
उक्त खानेपानी योजनामा वडाको बजेट सिलिङबाट १५ लाख विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले व्योहोर्ने गरी प्रक्रिया अगाडी बढाइएको गाउँपालिकाकाले बताएको छ।
अहिलेसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँका रूपमा लिने गरिन्छ। ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा अहिलेसम्म खानेपानीको दिगो योजना सञ्चालन नभएका कारण स्थानीयवासीले समस्या खेप्दै आएका छन्। एक घर एक धारा अभियान सन्चालन हुन थालेपछि स्थानीयले खुसि व्यक्त गरेका छन्।