काठमाडौं। नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यतालिका छ । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आइपुगेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।
उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नेछन् ।
यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ । जसका कारण उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण सोमबार काठमाडौंमा करिब तीनघण्टा ट्राफिक समस्या भएको थियो । प्रहरीका अनुसार आज पनि काठमाडौं उपत्यकाका प्रमुख मार्गको ट्राफिक सोमबारको जस्तै हुन सक्नेछ ।