उदयपुर। दसैँको समयमा बेमौसमी अविरल वर्षा भएपछि भत्किएका उदयपुर जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो।
दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएर रहेका छन्। वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर,माझखर्क साथै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक भत्किएका छन्। तर ती सडकहरु अझै पनि सञ्चालनमा आउन सकेको छैनन्।
उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन्।
ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र परेपछि उनीहरु दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाँध्य भएका छन्। ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको यातायात व्यवसायी बताएका छन्।