ताप्लेजुङ। ताप्लेजुङका ग्रामीण सडकमा पुल नहुँदा जोखिमपुर्ण यात्रा गर्न स्थानीय बाँध्य रहेका छन्। सो क्षेत्रमा यातायात सुविधा पुगेको भएता पनि स्थानीय खोलामा मोटेरेवल पुल नभएको कारणले यात्रुहरुले जोखिमपुर्ण यात्रा गर्नु परेको हो। उक्त जिल्लाको गाउँ–गाउँसम्म सडकको पहुँच विस्तार भएसँगै यातायता सेवा सञ्चालनमा आएपछि स्थानयिलाई लामो तथा छोटो दुरीको यात्रा गर्न सहज भएको छ।
त्यस्तै हाल जिल्लाको सदरमुकामदेखि पाँचथर, इलाम, झापा, प्रदेश राजधानी विराटनगर तथा संघिय राजधानी काठमाडौं लगाएत अन्य क्षेत्रको लामो यात्रा गर्नु पर्दा त्यहाँका स्थानीयले गाउँदेखि नै सवारी साधन चढ्न पाएका छन्। ग्रामीण भेगमा सडकको विस्तारसँगै यातायात सुविधा उपभोग गर्न पाएका स्थानीयका लागि खोलामा पुल नहुँदा सुविधासँगै जोखिम पनि बढेको छ। त्यस्तै धेरैजसो ग्रामीण सडक मापदण्ड अनुसार नबनेको कारण साथै खोलामा पुल नहुँदा यात्रुलाई जोखिपुर्ण यात्रा गनुपर्ने बाँध्यता रहेको छ।
जिल्लाको फक्तालुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा वर्षा यामको समयमा पानीको सतह बढ्ने हुँदा जोखिम मोलेर नै यात्रा गर्न बाँध्य भएको स्थानयिको गुनासो रहेको छ। त्यस्तै फक्तालुङ गाउँपालिका, फुङलुङ नगरपालिकाको सिस्नेखोलामा अहिलेसम्म पुलको व्यवस्था हुन सकेको छैन्। निर्माणाधीन ओलाङचुङगोला उत्तर दक्षिण लोकमार्गको कारण लेलेपे,तापेथोकजस्ता दुर्गम क्षेत्रका स्थानीयले हाल यातायात सुविधा उपभोग गर्न पाएको भएता पनि फक्तालुङ गाउँपालिकाको सिसँवा खोला र तापेथोकस्थित थिवा खोलामा गाडी तर्ने पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको हो।
त्यस्तै जिल्लाको सिदिङ्वा र सिरिजङघा गाउँपालिकाको सिमानामा रहेको तावा खोला र सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सिमानामा बग्ने सुन्तले खोलामा पुल नहुँदा यात्रा जोखिम रहने स्थानीयको भनाई रहेको छ। सडक र यातायातको सुविधा प्राप्त भएपनि ठाउँ–ठाउँमा रहेका खोलाहरुरुमा पुल नहुँदा स्थानीयले जोखिमपुर्ण यात्रा गर्दै आएका छन्।