इलाम। केहि दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले सूर्योदय नगरपालिकाको केन्द्र फिकलमा आपुर्ति हुँदै आएको पानीका मुहानसहित संरचनामा ठुलो क्षति पुर्याएको छ। खानेपानीको मुहानमा क्षति पुगेपछि सो नगरपालिकामा पानीको आपुर्ति ठप्प भएको छ। पहिरोले सुर्योदय नगरपालिका–९ को पान्दामदेखि मुहानसम्मका ७ ठाउँमा क्षति पुर्याएको छ।
बाढीपहिरोले खानेपानी आयोजनाको रुङसुङ्ग क्षेत्रका ४ वटा पाइप बगाएको, पान्दाम क्षेत्रमा पाइप सोरिएको, भुल्केमा ४ वटा पाइपसहित वासआवट बगाएको साथै छ घरे क्षेत्रमा २ वटा पाइप बगाएको छ। त्यस्तै बुढाथोकी गाउँ क्षेत्रमा ६ वटा पाइप झरेको र मुहान क्षेत्रको ४ वटा पाइप पनि बगाएको छ। पहिरोले धेरै ठाउँमा पाइप राख्ने ठेसवालसमेत बगाएपछि खानेपानीको समस्या भएको फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षले जानकारी गराएका छन्।
पहिरोले आयोजनामा ५० लाख भन्दा बढी क्षति पुर्याएको साथै पानीको मुहानसहित रिर्जभ ट्याङकीमा पनि क्षति गरेको छ। सो क्षति भएका संरचनाहरु पुनःनिर्माण गर्नको लागि अझै केहि दिन लाग्ने कुरा खानेपानी समितिका अध्यक्षले जनाएका छन्। बाढीपहिरोले सडक अवरुद्ध भएको कारण क्षति भएको संरचना निर्माण गर्नको लागि आवश्यक पर्ने सामान लान नै समस्या भएको हुनाले निर्माण कार्यमा ढिलाई हुने कुरा उनले बताएका छन्।
पहिरोले क्षति पुर्याएको पशुपतिनगर खानेपानी आयोजनाको अस्थाई संरचना निर्माण गरी पिउने पानी केहि क्षेत्रमा वितरण थालिएको पशुपतिनगर खानेपानी समितिका सचिवले जनाएका छन्। सो खानेपानी आयोजनाको मुहान पाइप गरी ५ लाख भन्दा बढी क्षति भएको छ। पर्यटकको सिजनमा पानीको अभावले होटल व्यवसायि बढी मारमा परेका छन्। पानीको अभाव टार्नको लागि बजारबासीले नजिकैको ढुङगेधाराबाट पानी ओसारेर गर्जो टार्दै आएका छन्। पानीको अभावले त्यस ठाउँमा आउने पर्यटक पनि समस्यामा पर्दै आएका छन भने पानीको अभाव टार्ने उद्देश्यले सुर्योदय नगरपालिकाले ट्याङकरबाट सरसफाइमा प्रयोग हुने पानी वितरण गर्दै आएको छ।