काठमाडौं। व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कुल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको हो।
करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ।
व्यास नगरपालिका–४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना छ। व्यास नगरपालिका–१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य ट्यांकी र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्यांकी निर्माणकार्य भइरहेको छ।
समितिले ट्यांकी निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ। रिजर्भ ट्यांकीको भूइँ ढलान गर्ने कार्य दसैंँअघि सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन सुरुगरिएको छ। मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन्।
पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिने बताइएको छ। मुख्य प्लान्टको कार्य सकिएपछि तिहारपछि मादीनदी किनारमा लिफ्ट क्षेत्रको काम गरिने नगरपालिकाले जनाएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ १५ करोड २४ लाख ३६ हजारमा सम्झौता भएको हो।
उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाले जनाएको छ।
नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ।