काठमाडौं। काठमाडौं उपत्यकामा यहि कात्तिक महिनाभित्र मेलम्चीको पानी ल्याउने गरी तयारी भइरहेको छ। मेलम्ची खानेपानी विकास समितिले कात्तिक भित्रै पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको हो।
गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा वर्षा सुरु भएसँगै असारदेखि रोकिएको थियो। यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिने समितिले जनाएको छ।
वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ। अब गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने समितिको भनाइ छ।
आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो। त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ। अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ।
दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौं ल्याइएको थियो। पानी पथान्तरण गरेपछि विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो। आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु समेत भएको थियो।
सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्यायो। सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनःपानी पथान्तरण गरेको थियो।