बारा। नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा ४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। उनले चुनावी एजेन्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।
नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिबद्धता जनाएका छन्। सबै वडाहरूलाई आउँदो ५ वर्षमा पक्की सडकको रूपमा विस्तार गरिने उल्लेख गरे । अमलेखगन्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल समाधान गर्ने प्रतिबद्धता पनि उनले जनाए। प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिबद्धता पनि उनले जनाएका छन्।
नेता श्रेष्ठले विश्रामपुर–इटियाही–प्रसौनी–खुटवा–बुनियाद–इनर्वासिरा–महेन्द्र लोक मार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिबद्धता जनाए । साथै छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया–भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुँदै महेन्द्र लोक मार्गमा जोडिने उल्लेख गरे । राष्ट्रिय गौरवका योजनाहरू फास्ट ट्र्याक, निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने तथा वीरगन्ज र सिमरामा रहेको औद्योगिक कोरिडोरलाई विशेष आर्थिक क्षेत्र (सेज)को सञ्चालन गर्ने प्रतिविद्धतामा उल्लेख छ ।
आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रबन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रवर्द्धनका लागि सडक पेटीमा वृक्षारोपण अभियान अघि बढाउने पनि उहाँले प्रतिविद्धतामा उल्लेख गरे । पर्सा राष्ट्रिय निकुञ्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरूलाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा संवर्द्धन गर्ने पनि उल्लेख गरे। औधौगिक कोरिडोरमा मजदुरका लागि २ सय शय्याको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिबद्धता पनि उनले जनाए ।