बागलुङ। बागलुङ नगरपालिकाले ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने भएको छ । नगरपालिकाले बजार क्षेत्रको ढल व्यवस्थापन गरेर कम्पोस्ट मल बनाउने भएको हो।
नगरपालिकाका अनुसार बजारभित्रको ढल निकासका लागि २० रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र बनाउन लागिएको हो । त्यसको विस्तृत योजना प्रतिवेदन (डीपीआर) कार्यान्वयन गर्न लागेको नगरपालिकाले जनाएको छ।
प्रशोधन केन्द्रका लागि कम्तीमा १ अर्ब १५ करोड खर्च गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। दुई स्थानमा प्रशोधन केन्द्र बनाएर व्यवस्थापन गर्ने गरी तीन वर्षअघि डीपीआर बनेको थियो । महँगो र अव्यवस्थित हुने भएपछि पालिकाले एकै स्थानमा प्रशोधनका ५ वटा केन्द्र बनाउन विभागको विज्ञ टोली झिकाएर काम थालेको हो। विभागको विज्ञ टोलीले पनि एकै स्थानमा प्रशोधन केन्द्र बनाउन सुझाव दिएको छ । हालसम्म बागलुङ बजारमा ढल व्यवस्थापन भएको छैन । काठेखोला र कालीगण्डकी किनारमा गरिने दुईवटा प्रशोधन केन्द्र हटाएर काठेखोला छेउमा एउटै प्रशोधन केन्द्र बनाउन विभागको टोलीले सुझाव दिएको हो । तत्काल जग्गा छनोट गरेर काम अगाडि बढाउने नगरपालिकाले जनाएको छ।
सहकारीमार्फत फोहोर उठाइरहेको पालिकाले व्यवस्थित ढल निकास बनाएर अर्गानिक मल बनाउने लक्ष्य राखेको छ । हाल पालिकाले संकलन गर्ने फोहोर कालीगण्डकी र काठेखोला छेउमा अव्यवस्थित रूपमा फाल्दै आएको छ । जसले गर्दा खुतुर्केस्थित डम्पिङ साइट दुर्गन्धित छ । फोहोर फाल्नाले मानवीय सभ्यतामै असर पर्ने भएकाले त्यसलाई रोक्नको लागि व्यवस्थित ढल निकास आवश्यक भएको जनाएको छ।