काठमाडौं। म्याग्दीको सदरमुकाम बेनीमा ‘मिनि रंगशाला’ निर्माण शुरु गरिएको छ। बेनीको खुल्ला मञ्च खेलमैदानलाई विस्तार र स्तरोन्नति गर्न प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्न शुरु गरिएको हो।
रंगशाला निर्माणका लागि बेनी नगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपैयाँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालले आठ लाख रुपैयाँ बिनियोजन गरेका छन् ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।
प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । धुलोमा उभिएर खेल हेर्नुपर्ने दर्शकको बाध्यता हट्ने बेनी नगरपालिका म्याग्दीले जनाएको छ।