बेनी। म्याग्दीको बेनी बजारको खुलामञ्चमा प्यारापिटको विस्तार शुरु भएको छ। बेनी नगरपालिकाले थप प्यारापिट निर्माणका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट छुट्याएको हो।
म्याग्दी नदीतिरको प्यारापिटलाई पूर्णता दिन शुरु गरिएको प्यारापिट निर्माणको शिलान्यास बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ वडाध्यक्ष रमेशकुमार श्रेष्ठले गरे। ३५ मिटर लम्बाइ भएको चार तहको प्यारापिट निर्माणको उत्तरगंगा निर्माण सेवाले ३५ लाख ९३ हजार १०१ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माणलाई तीव्रता दिएको छ। चैत मसान्तसम्म प्यारापिट निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ।
यो आर्थिक वर्षबाट विनियोजित बजेटबाट निर्माण भइरहेको बताइएको छ। पुस २७ गतेदेखि शुरु हुने म्याग्दी महोत्सवपूर्व नै प्यारापिट निर्माण र कालीगण्डकी नदीतर्फको स्तरोन्नतिको काम ग्राउण्डको लेभलसम्म ल्याउने योजनासहित काम भइरहेको छ।
गण्डकी प्रदेशले विनियोजित ८ लाख बजेटबाट कालीगण्डकी किनारतर्फ पर्खाललाई पूर्णता दिएर ग्राउण्ड लेभलमा ल्याउने काम भइरहेको छ। प्यारापिट र अधुरो पर्खाल निर्माणलाई पूर्णता दिन हिउँदे अधिवेशनबाट थप बजेट विनियोजन गरेर काम गर्ने नगरको योजना रहेको बताइएको छ।
जिल्लामा फराकिलो, प्यारापिटसहितको गुणस्तरीय रंगशाला बनाउने योजनासहित जिल्ला खेलकुद विकास समितिले २०७४ सालमा डिपिआरसहित ९ करोडको लागत अनुमान सार्वजनिक गरेको थियो।
हालसम्म साढे ३ करोडभन्दा बढी लगानी भएको खुलामञ्चमा म्याग्दी नदीतिरको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ।