फाइल तस्बिर
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको लिफ्टिङ खानेपानी योजनाको परीक्षण गरिने भएको छ। लिफ्टिङ प्रविधिमार्फत पाथीभरामा पुर्याइएको खानेपानी योजनाको यसै साता परीक्षण गर्ने तयारी गरिएको हो।
यसअघि नै परीक्षण गर्ने योजना बनाए पनि पम्पिङ प्रणाली सञ्चालनका लागि थ्री–फेज विद्युत् लाइन व्यवस्थामा केही ढिलो भएकाले खानेपानी योजना परीक्षणमा पनि ढिलाइ भएको जनाइएको छ । थ्री–फेज विद्युत् लाइन व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र ताप्लेजुङमार्फत प्रक्रिया प्रारम्भ भइसकेकाले यही साता परीक्षण गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार विद्युत व्यवस्थाबाहेक योजनाको सबै कार्य सम्पन्न भइसकेको छ । अब विद्युत् व्यवस्था पनि भएकाले लिफ्टिङ प्रविधिको पम्पिङ प्रणालीमार्फत् पाथीभरामा पानी पुर्याउने योजनाको परीक्षण हुने भएको छ।
क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको बलुडाँडाका लागि थ्री–फेज स्मार्ट मिटर ५० केभीएको र फेदी बजारका लागि २५, यहि क्षेत्रको दोबाटोका लागि २५ र नयाँपाटीका लागि २५ केभीएको उपकरण उपलब्ध गराई दिन प्राधिकरणलाई पत्राचार गरेको छ । उक्त उपकरण उपलब्ध भएर जडान हुन समय नलाग्ने भएकाले यसै साता पम्पिङ प्रणालीमार्फत पाथीभरामा पानी पुर्याउने योजनाको परीक्षण गर्ने तयारी गरिएको हो।