काभ्रे। जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ स्थित टटलेटारमा सञ्चालित पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको छ । वग्मती प्रदेश सरकारको ५० लाख, नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा सुरु गरिएको पार्कोटे –टटलेटार खानेपानी तथा सरसफाइ आयोजना अन्तिम चरणमा पुगेको हो । आयोजनाबाट ५५ घरधुरी लाभान्वित हुनेछन् ।
प्रदेश सरकारबाट विनियोजित रकमबाट बोलपत्रमार्फत निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार १ सय ७३ मिटर डीप बोरिङ गरिएको छ भने त्यसको लागि मेसिन घर, ४० हजार लिटर क्षमताको रिजर्भर र ट्यांक निर्माण गरिएको छ ।
विद्युत् आपूर्तिका लागि नेपाल विद्युत्त प्राधिकरणकै स्वामित्वमा रहने गरी सय केभिएको ट्रान्सफर्मर राखिएको छ । लाइन विस्तारका लागि प्राविधिक स्टेटमेन्ट तयार गरिएको स्थानीय उपभोक्ता दीपेन्द्र पौड्यालले जानकारी दिए । उनका अनुसार थप बजेट व्यवस्थापनका लागि नमोबुद्ध नगरपालिकालाई अनुरोध गरिएको छ ।
नमोबुद्ध नगरप्रमुख कुन्साङ लामाले आयोजना अवलोकन गर्दै बाँकी रहेको काम पूरा गर्न नगरपालिकाले बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आयोजना सम्पन्न गर्नुभन्दा पनि त्यसको दिगोपन प्रमुख विषय रहेको बताउँदै दीर्घकालीन सञ्चालन गर्ने योजना बनाउन अनुरोध गरे ।
उपभोक्ता समितिका अध्यक्ष पौडेलले नगर संरक्षक बन्ने अपेक्षा गरेको बताए । उपभोक्ता समितिका सचिव केदारप्रसाद अधिकारीले शाखा लाइन विस्तारका साथै चौकीदार घर लगायतका संरचना बनाउनका लागि थप बजेट आवश्यक भएको बताए । कान्तिपुरबाट