म्याग्दी। बेनी नगरपालिका–१ रत्नेचौरमा धौलागिरि क्षेत्रकै ठूलो खेलमैदान बनाउन पूर्वाधार निर्माण भएको छ। बेनी नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले रत्नेचौरस्थित बुढोचौर खेलमैदान सम्माएर प्याराफिट, स्टेज, भवन र घेराबार निर्माण गरेका हुन्। पछिल्लो चार वर्षमा रु ९० लाख लगानी भएको खेलमैदान स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु १० लाख बजेट विनियोजन भएको वडाध्यक्षले जानकारी दिएका छन्।
गत वर्ष विनियोजन भएको रु ७ लाख बजेटबाट निर्माण भएको खेलमैदान परिसरको दुईकोठे सामुदायिक भवन आइतबार सांसद भूपेन्द्र थापाले शुभारम्भ गरेका हुन्। भवनको एक–एक कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। त्यस्तै धौलागिरि क्षेत्रकै ठूलो र व्यवस्थित खेलमैदान बनाउन क्रमागत योजनामा समावेश गरेर बजेट व्यवस्थापन भएको छ।
गत वर्ष प्राप्त भएको रु १० लाख बजेटमध्ये रु ७ लाखले दुई कोठे भवन, रु १ लाख ५० हजारले नाली निर्माण र रु १ लाख ५० हजारले खेलमैदान सम्माउने काम भएको थियो। आर्थिक वर्ष २०७६/७७ मा रु ५० लाख बजेटबाट खेलमैदानको डिलतर्फ ५ तह भएको ६० मिटर लम्बाइ र २/७० मिटर चौडाइको प्याराफिट बनाइएको थियो।
त्यस्तै प्याराफिटमाथि १० फिट अग्लो तारजालीसमेत लगाइएको र आर्थिक वर्ष २०७५/७६ मा रु २० लाखको लागतमा खेलमैदान परिसरमा मञ्च निर्माण भएको थियो। साथै आर्थिक वर्ष २०७४/७५ मा बेनी नगरपालिकाको रु दश लाख लागतमा २०० मिटर तारजाली लगाइएको थियो। सो खेलमैदानमा ११/११ खेलाडीलाई फुटबलका साथै एथलेटिक्स र दौड प्रतियोगिता सञ्चालन गर्न सकिन्छ। बागलुङ, म्याग्दी र पर्वतको पायक पर्ने ठाउँ भएकाले रत्नेचौर खेलमैदानमा पूर्वाधार भएमा ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने जानकारी दिएको छ।