काठमाडौं। धनगढी उपमहानगरपालिका १९ स्थित फुलबारी बसपार्क सन्चालनमा आएको छ। सघन शहरी बिकास कार्यक्रमअन्तर्गत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए।
गत भाद्रमा निर्माण सम्पन्न भए पनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क संचालनमा आउन केही समय लागेको हो। इन्जिनियर भट्टका अनुसार २ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको हो। धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए।
उक्त बसपार्क मेयर वडले उदघाटन गरेका हुन्। उनले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए। बसपार्कबाट सुदुरपश्चिमका पहाडी जिल्लालगायत काठमाडौ, पोखरा, बिराटनगरसम्म बस सन्चालन हुने बताइको छ।