काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला (रुद्रमती नदी) किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान थालेको छ। नदी किनारका धेरै सार्वजनिक जग्गा मिचिएको गुनासो आउन थालेपछि अभियान थालेको प्राधिकरणले जनाएको हो।
प्रारम्भिकरूपमा आएका उजुरीका आधारमा अध्ययन गरी धोबीखोला किनारमा मिचिएका जग्गाको नापजाँच गरी त्यससम्बन्धी प्रतिवेदन तयार गर्न लागिएको प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले जानकारी दिए।
प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका धोबीखोला दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उनले बतए। प्रतिवेदन तयार भएपछि मिचिएका जग्गालाई सार्वजनिक उपभोगमा ल्याउन पहल थालिनेछ। सार्वजनिक जग्गा संरक्षण र मापदण्ड पालनामा प्राधिकरण लागिपरेको छ।
प्राधिकरणले बल्खु खोला किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी अभियान पनि सुरु गरेको जनाएको छ। उपत्यकाका अन्य नदी किनार दायाँबायाँ मिचिएका जग्गा संरक्षण गरी विपद् व्यवस्थापनका लागि उद्यान निर्माण गर्ने प्राधिकरणले जनाएको छ।