एजेन्सी। ब्राजिलको रियो द जनेरियोस्थित माराकाना रंगशाला नजिक रहेको सडकको नाम फेरेर ‘किङ पेले मार्ग’ राखिएको छ। फुटबलका महान् खेलाडी पेलेकोको सम्मानमा सडकको नाम परिवर्तन गरिएको हो।
पेले मार्ग नाम परिवर्तन भएसँगै फोटो खिचाउन स्थानीय तथा बाह्य पर्यटकको भिड लाग्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
किङ पेले मार्ग माराकाना रंगशालादेखि एक दशमलव चार किलो मिटरसम्म रहेको छ।
यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे (वेस्ट रेडियल) भनेर चिनिन्थ्यो।
माराकाना रंगशाला विश्वको सबैभन्दा प्रसिद्ध फुटबल स्टेडियमहरू मध्ये एक हो। यहाँ सन् १९५० र २०१४ मा दुई वटा विश्वकप फाइनल खेल आयोजना भएका थिए।
यो रंगशाला पत्रकार मारियो फिल्होको नाममा राखिएको थियो। जसले यसलाई सन् १९४० मा पुन: निर्माणको लागि अभियान चलाएका थिए। यसअघि पनि मैदानको नाम पेलेको नाममा राख्नुपर्ने आह्वान गरिएको थियो।
यो सँगै ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।