धनगढी। भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
हिजो (सोमवार) दुर्घटनामा ४ जनाको मृत्यु भएकोमा आज थप २ जनाको ज्यान गएको हो। भारतको उत्तराखण्ड प्रदेशस्थित लखनउ (उन्नाउ) मा भएको बस दुर्घटनामा अहिलेसम्म ५ जना नेपालीसहित एक भारतीय नागरिकको मृत्यु जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
आज दुर्घटनामा परेर घाइते भएका कैलाली र कञ्चनपुरका थप दुईजनाको मृत्यु भएको हो। सोमवार कृष्णपुर नगरपालिकाका ३५ वर्षीय दीपक सुनार र कैलालीको टीकापुर नगरपालिकाका ३५ वर्षीय हरि साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूको उपचारका क्रममा भारतीय अस्पतालमा मृत्यु भएको हो। यसअघि दुर्घटनामा परेर कैलालीको टीकापुरका तीनजनासहित बस चालक (भारतीय नागरिक) को मृत्यु भएको थियो।
प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको दुर्घटनामा मृत्यु भएको थियो।
बसलाई विपरीत दिशाबाट गइरहेको सवारीले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ।