काठमाडौं। सडक डिभिजन खुर्कोटले समयमा काम नगर्ने तीन वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको छ। कार्यालयले आज (बुधबार) सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने तीन वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने चेतावनी दिएको हो।
निर्माण कार्य गर्न पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै काम सम्पन्न नगरेको र सम्पन्न गर्ने तर्फ कुनै पनि चासो नदेखाएको कार्यालयले जनाएको छ।
यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आधिकारिक प्रतिनिधि कार्यालयमा उपस्थित भई समयमा कार्य सम्पन्न हुन नसक्नुको कुनै मानविय कारण भएमा लिखित जवाफ पेश गर्नु हुन कार्यालयले अनुरोध गरेको छ।
तोकिएको समय भित्र उचित कारण सहित सम्बन्धित आधिकारिक प्रतिनिधि उपस्थित नभएमा वा पेश गरिएको स्पष्टिकरण चित्त बुझ्दो नभएमा प्रचलित कानुन तथा ठेक्का रद्द सम्झौता अनुसार ठेक्का तोडी कालोसूचिमा राख्ने कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
