सिन्धुपाल्चोक। खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी छिट्टै काठमाडौँ पठाउने बताएका छन्। फास्ट ट्रयाकबाट अस्थायी संरचना निर्माण गरेर तत्काल मेलम्चीको पानी काठमाडौँ लाने उनले बताएका हुन्।
हेलिकप्टरबाट सोमबार मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका चौधरीले स्थायी संरचनाको काम पनि तत्काल थाल्ने बताए। उनले भने, अहिले अस्थायी संरचनाबाट पानी छिट्टो काठमाडौँ लान्छौं, स्थायी संरचनाको काम पनि सुरु हुनेछ।
छिट्टो काम सक्नकालागि मन्त्रालयका सचिव र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकलाई निर्देशन दिएको चौथरीले बताए। हेलम्बु मेलम्चीको बाढीको मुहानस्थल भ्रेमाथाङ पनि पुगेका मन्त्री चौधरीले एसियाली विकास बैंक (एडिबी) लाई मेलम्ची खानेपानीको मुहानको जलाधार क्षेत्रको संरचना अध्ययन गर्न आग्रह गर्ने बताएका छन्।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीको पानी छिट्टो काठमाडौँ पठाउने प्रक्रिया सुरु गर्न आग्रह गरेका छन्। उनले मेलम्चीको मुहान अम्बाथान पहिरोको जोखिममा रहेकाले खानेपानीको स्थायी संरचना सर्कथलीमा निर्माण गर्न पनि मन्त्रीलाई सुझाव दिएका छन्।
गत असार १ गते आएको बाढी र पहिरोले मेलम्ची करिडोरमा अर्बौको क्षति पुर्याएको थियो। पानीसहितको लेदोले मेलम्ची खानेपानी आयोजनाको संरचनासमेत ध्वस्त बनाएको थियो।