काठमाडौं। पूर्वी रुकुम र रोल्पाको संगमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ। पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो।
टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनीयर केशव शर्माका अनुसार यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको हो।
टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन्।यो भन्दा अगाडी त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्न सकेको थिएन। मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पातीहाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो।
‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धुरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ,’ प्रमुख शर्माले भने। उनले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पु¥याउने अभियानमा आफूहरु लागिपरेको पनि बताए।
पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धुरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन्। भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ। विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ। मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए।