सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माण पूरा भई हस्तान्तरणसमेत भएको हो।
बसपार्क निर्माणको काम सकिएपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गरेका छन्।
राम कविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ। कनकाई इन्टरनेसनल बिल्डर्स सुरुङ्गा, झापाले आठ करोड ३१ लाख रुपियाँ लागतमा बसपार्क निर्माणको काम पूरा गरेको हो।
बसपार्कमा अढाइतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कसप क्षेत्र, पार्किङलगायतका सुविधा रहेको निर्माण कम्पनीले जनाएको छ। नवनिर्मित बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ गर्न सकिन्छ।
नगरपालिकाले कार्यविधि बनाएर चाँडै नै नवनिर्मित बसपार्क सञ्चालनमा ल्याउने योजना बनाएको बताइएको छ।