काठमाडौं। नेपालकै पहिलो जस्तासिसा खानी उत्खनन परियोजना सुरु नहुँदै बन्द हुने स्थितिमा पुगेको छ। उत्खननका लागि कम्पनीले थप लगानी नगरेपछि रसुवा र धादिङको सिमानास्थित गणेश हिमाल जस्तासिसा परियोजना बन्द हुन लागेको हो। सो खानी उत्खननको जिम्मेवारी पाएको नेपाल मेटल कम्पनी लिमिटेडले झन्डै सातवर्षदेखि काम स्थागन गरेको छ। खनिज उत्खनन सुरु गर्न बाह्र करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सरकारी, विदेशी र निजी संयुक्त लगानीमा सो कम्पनी स्थापना भएको थियो।
२०३३ सालमा स्थापित भएको कम्पनीले २०६० सालसम्म खानीको पूर्वाधार निर्माण तथा विस्तृत अनुसन्धान र खोजतलास गरेको थियो। अनुसन्धानले गणेश हिमाल क्षेत्रका ६ खानीबाट व्यावसायिक उत्खनन गर्न सकिने पत्ता लगाएको थियो। तर, उत्खननका लागि पर्याप्त रकम नभएपछि खानी उत्खनन परियोजना बन्द हुने स्थितिमा पुगेको कम्पनी स्रोतले जनाएको छ। खानी बन्द हुने स्थितिमा पुगेपछि खानी उत्खननका लागि खरिद गरिएका करौडौं मूल्यका उपकरणहरू अलपत्र परेका छन्। सो कम्पनीले खानीको अध्ययन र पूर्वाधार निर्माण गर्न १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको बताएको छ।
नेपाल सरकार, भारतको बिडला समूहअन्तर्गतको हैदरावाद इन्डस्ट्रिज लिमिटेड , हङकङको के. के. वामफोर्ड एन्ड कम्पनी लिमिटेड, नेपालको खेतान समूह अन्तर्गतको म्युचुयल ट्रेडिङ कम्पनी र ८ सय ८३ सर्वसाधारण जनताको उक्त कम्पनीमा सेयर रहेको छ।