काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले दुई निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले हिजा (सोमबार) सूचना प्रकाशित गर्दै ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको हो।
सिँचाइ आयोजनाको हेडवर्क्स र नहर निर्माण अलपत्र पार्ने एचबीपी कन्स्ट्रक्सन एण्ड ट्रान्सपोर्ट र केआर कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।
डिभिजन कार्यालयसँग निर्माण कार्य गर्ने सम्झौता गरेका यी निर्माण कम्पनीले गरेको कामको हालसम्म सन्तोषजनक प्रगति नभएको कारण यो प्रक्रिया अगाडि बढाइएको हो।
जिम्मा लिएर काम नै सुरु नगरेको र समयमै पुरा गर्नका लागि यसअघि पटक–पटक दिइएको लिखित तथा मौखिक निर्देशन समेतको बेवास्ता गरेको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद ऐन अनुसार कार्यालयले निर्माण व्यवसायीसँग ठेक्का किन नतोड्ने र ठेक्का तोड्नु नपर्ने कुनै मनासिव कारण भएमा १५ दिनभित्र विश्वसनीय स्पष्टीकरण र समयमै निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजना पेस गर्न समेत कार्यालयले निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका सर्तहरु र सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम ठेक्का सम्झौता तोडिने कार्यालयले जनाएको छ। यसैगरी सम्पूर्ण कानूनी कारवाहीको प्रक्रिया समेत अगाडि बढाइने कार्यालयले जानकारी दिएको छ।
