बाजुरा । बाजुरा जिल्लाको सबैभन्दा टाढाको गाउँ लाम्पाटा जहाँ कुनै पनि सरकारी सेवा पुगेको छैन । हिमाली गाउँपालिका–३ मा रहेको यस गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । १३ घरपरिवार रहेको यो गाउँमा कुनै पनि विकास निर्माणका काम हुन सकेका छैनन् ।
सदरमुकाम मार्तडीबाट पैदल पाँच दिनमा पुगिने लाम्पाटा गाउँमा हालसम्म कुनै पनि सरकारी सेवा पुगेको छैन । बाटोघाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी लगायत सम्पूर्ण सेवाबाट बञ्चित यस गाउँका मानिस अझै अन्धकारमा जिवनयापन गरिरहेका छन् ।
सबै जनजातिकको बसोबास रहेको यस गाउँमा बालविकास केन्द्रसम्म छैन । स्वास्थ्यचौकी वडा नं १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ।
उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको छ तर जङ्गलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी बताउँछन् ।
यस क्षेत्रका बासिन्दा वर्षौँदेखि सबै किसिमका सरकारी सेवाबाट बञ्चित भएर सामान्य अधिकार समेत नपाएर बस्नु पर्ने बाध्यता खेपिरहँदा समेत सरकारको नजर एक पटक पनि यस क्षेत्रमा परेको देखिएको छैन ।