काठमाडौं। बेनी बजार संरक्षण गर्नको लागि पर्खाल निर्माण कार्य भइरहेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारलाई कालिगण्डकी नदीको कटानबाट जोगाउन थप पक्की पर्खाल निर्माण कार्य भइरहेको हो।
रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले बेनी नगरपालिका–७ र ८ को कटानको उच्च जोखिम क्षेत्रमा थप पक्की आरसीसी पर्खाल निर्माणको काम गरिरहेको छ । म्याग्दी जेसिजको भवनदेखि म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिको भागसम्म कालिगण्डकी नदी किनारमा ८ मिटर अग्लो १ सय ३४ मिटर लामो काउण्टर फोर्ट प्रविधिको आरसीसी पर्खाल निर्माण गर्न जग खनिरहेको छ ।
कालिगण्डकी नदी कटानको उच्च जोखिममा रहेको कालिपुल बसपार्क र जेसिज भवन रहेको भागमा पक्की पर्खाल लगाउन गत वर्ष रुपताल संरक्षण एकीकृत विकास परियोजनाले नौ करोड ४५ लाख रुपियाँमा रौताहट–बीएनबी कन्स्ट्रक्सन जेभीसँग ठेक्का सम्झौता गरेको परियोजनाले जनाएको छ। परियोजनाका अनुसार २२ महिनाभित्र योजना सम्पन्न गर्ने गरी गतवर्ष पुसको दोस्रो हप्ता ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार गतवर्ष कालिपुल बसपार्कस्थित कालिगण्डकी नदीले कटान गरेको क्षेत्रमा ८० मिटर पक्की पर्खाल निर्माण सम्पन्न गरिएको छ । चालू आर्थिक वर्षको जेठ महिनाभित्र जेसिज भवनदेखि उद्योग वाणिज्य संघको कार्यालय पछाडिसम्मको १ सय ३५ मिटर पक्की पर्खाल निर्माणसक्ने गरी काम सुरु गरिएको छ । नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न सुरु गरिएको बताइएको छ।
नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटर माथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसीसी पर्खाल निर्माण गर्ने योजनामा उल्लेख छ । दुई वर्षअघि कालिगण्डकीमा आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । वर्षात्का समयमा नदी कटानबाट बजारलाई जोगाउन पक्की पर्खाल लगाउन थालिएको बेनी नगरपालिकाले बताएको छ।