ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न शुरु गरिएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले हिजो उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा शुरु भएको हो ।
उद्घाटनपछि नेता भट्टराईले विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने बताए ।
जिल्ला अस्पतलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके पाथीभरा मन्दिरमा दर्शन गर्न आउने धार्मिक पर्यटक, विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न तथा ताप्लेजुङको विभिन्न पर्यटकीयस्थलमा आउने पर्यटकलाई पनि सहज रुपमा सेवा दिनसकेमा पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने भट्टराईको भनाइ छ ।
७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचार कक्ष बेड स्थापना भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेण्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए ।