काठमाडौं। हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा कारिब २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ। लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन्। सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ।
स्थानीयवासी मीमबहादुर रोकायाका अनुसार मुहानमा पानी सुकेपछि अन्यत्र गई पानी खानुपर्ने अवस्था रहेको थियो। तर केही दिन अगाडि लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थालेपछि देउसीभैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको छ।
गाउँका सबै ज्येष्ठ नागरिक उपस्थित भई धारा मर्मत गरेको होमजग्गी रोकायाले बताए। सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्की बनाइने भएको बताए। गाउँमै सुकेको मुहानाट पानी निस्कन थालेपछि स्थानीयवासी खुसी भएका छन्, भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उनको भनाइ छ।