कास्की। लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका पोखरा–२० भलामखोरका घरघरमा खानेपानीका धारा जडान गरिएको छ । एक करोड १९ लाख ३२ हजार लागतमा इक्राघारी विचारी खानेपानी आयोजना सम्पन्न भएसँगै स्थानीयको घर–घरमा मिटरसहितको खानेपानी धारा जडान गरिएको हो ।
गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत रु एक करोड आठ लाख ४८ हजार र १० लाख ८४ हजार आठ सय बराबरको स्थानीय जनश्रमदान परिचालन गरिको छ। आर्थिक वर्ष २०७७÷ ७८ निर्माण कार्य सुरु गरिएको सो आयोजना सम्पन्न भएसँगै उक्त स्थानका ९१ घरका चार सय ५० परिवारलाई प्राकृतिक स्रोतको शुद्ध खानेपानी सुविधा पुगेको छ ।
बस्तीभन्दा एक हजार सात सय मिटर टाढा रहेको जङ्गलको पानीको स्रोतबाट दुई इन्चको पाइपमार्फत ल्याइएको पानी ५० हजार र ३०/३० हजार लिटर क्षमताका छुट्टाछुट्टै तीनवटा ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था गरिएको छ।