कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिकामा १५ शय्याको नगर अस्पताल निर्माण गर्न सुरु गरिएको छ। बेदकोट–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी १५ शय्याको नगर अस्पताल निर्माण गर्न लागिएको हो।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता भएको थियो। आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग ९ करोड ७४ लाखमा ठेक्का सम्झौता भएपनि निर्माण कार्य भने ढिलो गरी सुरु गरिएको छ।
हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । सामान्य चोट लाग्दा पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ।