कञ्चनपुर। पुर्नवास नगरपालिका–९ सीताबस्तीका स्थानीयहरुको जग्गा बाढीले कटान गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले झण्डै ७०० मिटर क्षेत्रमा जग्गा कटान गरेको छ। त्यहाँका धेरै किसानको जग्गा नदीले बगाई बगरमा परिणत गरिसकेको छ भने नदीमा अझै पानीको बहाव उच्च हुँदा जग्गा कटान जारी रहेको छ। जग्गा कटान रोक्नका लागि स्थानीय बासिन्दाले विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणको कार्यमा जुटेका छन्।
थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुर्नवास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पुर्याएको छ। कार्यक्रमअन्र्तगत नगरपालिकाले अदक्ष कामदारको ज्यालावापतको रकम व्यहोर्ने भएको छ। पहिलो चरणमा नदीको बहावले बढी क्षति पुर्याउन थालेको क्षेत्रमा ३०० मिटर जैविक तटबन्ध निर्माण भइरहेको छ। जसका लागि रु चार लाख ९१ हजार ९३३ बजेटको व्यवस्था गरिएको छ।
सो परियोजनाले दोदा नदीले गरिरहेको जग्गा कटान रोकथामका लागि रु २ लाख २४ हजार ९४, स्थानीय समुदायको श्रमदान, नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६३ हजार ८३९ र नगरपालिकाले स्थानीय सामग्रीको व्यवस्थापनका लागि रु १ लाख ९९ हजार ९२५ रकम व्यहोर्ने सहमति भएको परियोजनाका अधिकृतले जानकारी दिएका छन्। तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यसमेत हुने भएको छ। जिल्लाका अरु क्षेत्रका लागि जैविक तटबन्ध निर्माण नौलो नभए पनि सीताबस्तीमा भने पहिलोपटक जैविक तटबन्ध निर्माण हुन लागेको हो।
विपद् व्यवस्थापन समितिका सचिवले जैविक तटबन्ध निर्माण यस क्षेत्रकै लागि नौलो भएको बताएका छन्। ढुङ्गा र तारजालीको प्रयोग गरी निर्माण हुने तटबन्ध निर्माणका लागि धेरै निकायमा पुगे पनि सुनवाइ नभएपछि बाँसको तटबन्ध निर्माणको योजनालाई अगाडी बढाएको उनले बताएका छन्। जिल्लाको पुछारमा रहेको क्षेत्र त्यसमा पनि भारतसँग सीमा जोडिएको क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने भएकाले कुनै निकायले चासो दिएनन्। तर रेडक्रसले जैविक तटबन्ध निर्माणका लागि चासो देखाएपछि नगरपालिका पनि तटबन्ध निर्माणमा सहयोग गर्न अघि सरेको छ।
तटबन्ध निर्माण अगाडि बढ्न थालेपछि त्यहाँका स्थानीय जग्गा जोगिनेमा आशावादी भएको छन्। नगरप्रमुखले जैविक तटबन्ध निर्माणका लागि बजेटका अभाव हुन नदिइने जानकारी गराए। हाल रेडक्रस र नगरपालिकाको समन्वयमा जग्गा कटान रोकथामका लागि तटबन्ध निर्माण भइरहेको छ। रेडक्रसले शुक्लाफाँटा र कृष्णपुर नगरपालिका तथा लालझाडी गाउँपालिकामा बाढीबाट जग्गा कटान रोकथामका लागि एक दशकअघिदेखि जैविक तटबन्ध निर्माणको कार्य गर्दै आएको छ। जैविक तटबन्धले वर्षेनी नदीले पुर्याउने क्षति न्यूनीकरणमा टेवासमेत पुग्दै आएको छ।