मोरङ। मोरङको उर्लाबारी नगरपालिकामा ३९ करोड लागतमा खानेपानी योजना विस्तार थालिएको छ। उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले उर्लाबारी–८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालेको हो।
उर्लाबारीमा खानेपानीको बढ्दो मागलाई ध्यानमा राख्दै योजना विस्तार गरिरहेको र आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्याङ्की निर्माण गर्ने खानेपानी संस्थानले जनाएको छ। सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको संस्थानले जनाएको छ।
उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक–१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ। हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ। योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्।