काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन अवस्थामा रहेको चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ। पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो।
पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुंगाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुंगा व्यवस्थापनमा विरोध गरेका कारण ढुंगाको सट्टा आरसिसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सबइञ्जिनियरले बताएका छन्। ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेको हुनाले अब परिवर्तन भएर आएपछि मात्रै पुलको काम अघि बढ्ने कुरा सबइञ्जिनियरले बताए।
कम्पनीले भनेको समयमा ढुंगा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाँध्न ढुंगा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको साथै बाढीले कम्पनीलाई धेरै क्षति पुगेको कुरा कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले जानकारी गराएका छन्।
निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुंगा आवश्यक पर्छन्। यदि समयमा नै ढुंगा व्यवस्थापन भएन भने बाँध निर्माण गर्न ५र७ महिना भन्दा बढी लाग्ने जनाएको छ। आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुंगा संकलन गर्ने भन्ने भए पनि स्थानीयका विरोधका बीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो।
बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ। २०७४ सालमा ३ अर्ब २७ करोड रुपैयाँ ठेक्का सम्झौतामा निर्माण सुरू गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो।