काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका –८ कुइनेमङ्गलेको दुर्गम बस्ती पात्लेखर्कमा खेलमैदान निर्माण भएको छ । स्थानीय सप्तऋषि युवा क्लबले रघुगङ्गा गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण गरेको हो ।
चालु आर्थिक वर्ष २०७९÷८० मा रघुगङ्गाले विनियोजन गरेको रु १० लाख बजेटमा जनश्रमदानसमेत जुटाएर भलिबल र बास्केटबलको कोर्ट ढलान गरी खेलमैदान निर्माण गरिएको बताइएको छ।
खेलमैदान तयार भएपछि अभ्यास गर्न सहज भएको सप्तऋषि युवा क्लबले जनाएको छ। तीस परिवारको बसोबास रहेको पात्लेखर्कमा निर्माण गरिएको खेलमैदानलाई नजिकैको जनसुन्दर आधारभूत विद्यालयले समेत प्रयोग गर्नसक्ने क्लबले जनाएको छ ।