चितवन। भरतपुर महानगरपालिकाकी मेयर मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । १२औँ नगरसभामा नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षा गर्दै उनले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताइन् ।
पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको उनको दाबी छ । महानगरभित्र हालसम्म ६ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको उनले दाबी गरिन् । उनका अनुसार ६ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । ४ सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।
मेयर दाहालले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा ‘सिग्नेचर ब्रीज’ निर्माणका लागि टेण्डर भइसकेको बताइन् । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको उनको भनाइ छ । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट २ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भइरहेको उनले बताइन् ।