काठमाडौं। खोटाङको रावाबेँसी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज बिक्री वितरण गर्न र मौज्दात राख्न सहयोग पुर्याउने उद्देश्यले कृषि मिनी मार्केट र चिस्यान केन्द्र निर्माण सुरु गरेको छ। हाटबजार सञ्चालन तथा व्यवस्थापन कार्यविधिमा टेकेर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पालिकाकै लगानीमा कृषि मिनी मार्केटका लागि १५ लाख र चिस्यान केन्द्र निर्माणमा ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो।
६ वटा वडा रहेको पालिकामा अहिलेसम्म व्यवस्थित हाटबजार नहुँदा त्यहाँका किसानले उत्पादन गरेका कृषि उपज कुहिएर जाने, गाईभैँसीलाई खोलेको रूपमा प्रयोग गर्ने तथा घन्टौँ हिँडेर अन्य पालिका हाटबजार पुग्नुपर्ने बाँध्यताको अन्त्य गर्ने उद्देश्यले पालिका केन्द्र नजिक ३ रोपनी क्षेत्रफललाई सम्याएर शुक्रबारे हाटबजार लगाउन सुरु गरेको थियो।
सोही बजारलाई व्यवस्थित गरी फलामे ट्रस्टसहितको मिनी मार्केट तथा चिस्यान केन्द्रका रूपमा विकास गर्न लागिएको हो। पालिकामा हालसम्म व्यवस्थित हाटबजार नभएकाले किसानको उत्पादन खेर जान नदिन मिनी मार्केट र चिस्यान केन्द्र निर्माण थालिएको गाउँपालिका पाध्यक्षले जानकारी दिएकी छिन्।
सो पालिकाले सुरुमा हाटबजार लगाउन सुरु गरेकामा सोही बजारलाई कृषि मिनी मार्केटको रूपमा विकास गरेपछि कृषि उपजको मूल्य पाउने आसमा त्यहाँका किसान रहेका छन्। उत्पादित कृषि उपजलाई बजार लगेर बिक्री वितरण गर्न सहज हुने भएपछि उत्पादनले मूल्य पाउने त्यहाँको स्थानीयले बताएका छन्।