बैतडी। बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। जिल्लाका ४५ हजार घरधुरीमध्ये ८४ घरधुरीमा खानेपानी पुगेको हो।
बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउन ८ वटा लिफ्टिङ प्रविधिका गरी १४४ वटा खानेपानी योजना निर्माणाधीन अवस्थामा छन्।
अग्लो डाँडा रहेका बस्तीमा खानेपानी पुर्याउन खोलाबाट पानी तान्न ८ वटा लिफ्टिङ प्रविधिका योजना बनिरहेका छन्। बाँकी रहेका बस्तीमा छिट्टै खानेपानी पुर्याउने लक्ष्य राखिएको छ।
बैतडीको मेलौली नगरपालिका, सिगास गाउँपालिकाको मैनलामा लिफ्टिङ प्रविधिबाट यसै वर्ष सबै घरधुरीमा पानीको धारा पुर्याउने लक्ष्यसाथ काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ। सिगास गाउँपालिका–३, मैनोलामा एक हजार मिटर लामो लिफ्ट प्रविधिबाट पानी पुगेपछि धारा निर्माण भइरहेको छ।
मेलौली नगरपालिकाको काँडा, लामालेक र मेलौली बजारका लागि सुर्नया नदीबाट लिफ्ट गरेर पानी तान्ने काम अन्तिम चरणमा पुगेको छ।