एजेन्सी। टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। विनाशकारी भूकम्प गएको २ साता भित्रै ६.४ म्याग्निच्युटको अर्को भूकम्प गएको हो।
यस भूकम्पमा परेर तीन जनाको मृत्यु भएको छ भने ६ सय ८० भन्दा बढी मानिस घाइते भएका छन्।
टर्कीको दक्षिणी क्षेत्र आन्तक्य, डेफ्ने र सामन्दगीमा बढी क्षति पुगेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार प्रभावित क्षेत्रहरूमा थप क्षति भएको र मानिसहरू भग्नावशेषमा पुरिएका छन् । क्षतिको विवरण आउन बाँकी छ ।
पटक पटकको परकम्पनपछि आएको भूकम्पका कारण टर्की र सिरिया क्षेत्रमा त्रास बढेको छ । आपत्कालीन उद्धार र राहतका लागि आवश्यक तयारी गरिएको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।
टर्कीमा गत फेब्रुअरी ६ यता मात्र साना ठूला गरी ६ हजार भन्दा बढी परकम्प भएको अधिकारीहरूले बताएका छन् । यसअघि गएका २ ठूला भूकम्पमा परी टर्की र सिरियामा गरी ४४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।