काठमाडौं। विश्व बैंकको डेढ अर्ब ऋणमा निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाह सञ्चालनमा यत्तिबेला सरकारी अलमल देखिएको छ। गत साउनमै पूर्वाधार निर्माण सकिएको उक्त बन्दरगाह सञ्चालन गर्न भन्सार, वाणिज्य मन्त्रालय र अन्य निकाय बीच ठोस तालमेल नहुँदा योजना सम्पन्न भएर पनि पूर्वाधार प्रयोगविहीन भएको हो।
सो बन्दरगाह सञ्चालनमा ठोस प्रगति नभएको निर्माण कम्पनी इन्टरमोडल यातायता विकास समितिले जनाएको छ। पूर्वाधार पूर्णरुपमा सम्पन्न गरेर आयोजनको स्वमित्व गत साउनमै समितिले लिएको समिमितका कार्यकारी निर्देशकले बताएका छन्। भौतिक रुपमा सबै काम सम्पन्न गरेर बन्दरगाह सञ्चालनमा भन्सार, क्वारिन्टिन र अन्य निकायको बाटो कुरेर बसेको कुरा उनले जानकारी गराएका छन्। अन्य निकायले तयारी सकेर आएको बेला पूर्वाधारको जिम्मा लगाउने गरी समिति तयार अवस्था रहेको पनि उनले जनाए।
समितिले आफ्नो कार्यभार पूरा गरेको भन्दै कार्यकारी निर्देशकले बन्दरगाह सञ्चालनका लागि अन्य निकायको पहल कदमी आवश्यक भएको जनाएका छन्। निर्माण सम्पन्न भएको बन्दरगाहको भौतिक पूर्वाधार झण्डै चार महिनादेखि प्रयोगविहीन अवस्थामा रहेको छ।चोभार बन्दरगाह सञ्चालनको प्रमुख कार्यभार बोकेको भन्सार विभागले भने तत्काल सो बन्दरगाह सञ्चालनको अवस्था नरहेको जनाएको छ। भन्सार सञ्चालनका लागि प्राविधिक रुपमा काम गरिरहेको कर्मचारी संयन्त्र सरकार परिवर्तनसँगै फेरिएको र कामको पुनः स्वामित्व बाँडफाँट नभइसकेको भन्सार स्रोतले जनाएको छ।
त्यस्तै नाकाभन्दा भित्री सहरमा रहेको बन्दरगाह सञ्चानलको लागि ढुवानी व्यवस्थापन गर्नेलगायतका जटिल विषय भन्सारको प्रमुख कार्यक्षेत्रमा परे पनि उसले ठोस कदम अघि बढाएको छैन। बन्दरगाह सञ्चालन गर्ने निकायले माग गरेको खण्डमा जुनसुकै बेला आफनो सेवा दिन तयार रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जानकारी गराएको छ। बन्दरगाहमा खाद्य क्वारिन्टिनका लागि तत्काल केन्द्रीय प्रयोगशालाबाटै मदत लिने गरी कर्मचारी व्यवस्थापन गर्न कुनै समस्या नरहेको विभागकी महानिर्देशकले बताएकी छिन्।