काठमाडौं। सहरी विकास तथा भवन कार्यालय रुपन्देहीले काम नगर्ने ९ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले हिजो मंगलबार सूचना जारी गर्दै ९ वटा कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम नगरेको पाएका कारण ठेक्का तोड्न लागिएको जनाएको छ।
कार्यालयका अनुसार न्यु जगत्रादेवी निर्माण सेवा, इन्द्रधनु–शेरकाली जेभी, करबाही–गुण जेभी, भुसाल कन्स्ट्रक्सन एण्ड सप्लाइजले सडक तथा फुटपाथ निर्माणको काम अलपत्र पारेका छन्।
यसैगरी एएम–केएसके प्रवतिया जेभी, बन्शिखा निर्माण सेवा, नेशनल स्टेट बिल्डर्स, सहानी बिल्डर्स र सुनेहारी ड्रिलिङ एण्ड कन्स्ट्रक्सनले सडक र ड्रेनहरु निर्माण गर्ने काम वषौदेखि अलपत्र पारिरहेका छन्।
ठेक्का तोड्न नपर्ने कुनै कारण भएमा यो सूचना प्रकाशित भएको मितिबाट सात दिन भित्रमा आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ। अन्यथा, यही सूचनालाई अन्तिम ताकेता मानि ठेक्का तोड्ने कार्यालयले जनाएको छ।
